२०७३ माघ ४ मंगलबार
  • :
  • :

मकाउदेखि माइती देशसम्मः बेचिएकी चेलीको नारकीय यात्रा ! भन्छिन्- रक्षक नै भक्षक भएपछि न्याय खोज्न कता जाऊँ ? मैमाथि किन यस्तो ?

For Android Mobile Download App Click here

काठमाडौं । एउटी नेपाली चेली जो मकाउमा बेचिइन्, दलालबाट पटकपटक बलात्कृत भइन् अनि बल्लतल्ल माइती देश फर्किएपछि संरक्षण दिने संस्थाबाटै शोषणमा परिन् । जम्माजम्मी कहानी यत्ति नै हो उनको ।

उनी अर्थात् २८ वर्षीया रञ्जु थापा मगर (नाम परिवर्तित) । करिब एक वर्ष मकाउमा नारकीय जीवन बिताएर एनआरएन र प्रहरी अपराध महाशाखाको सहयोगमा काठमाडौं आइपुगेपछि रन्जुले न्याय पाउने आशा राखेकी थिइन् । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल आफैंले उनको उद्दारको पहल गरेका थिए । उनलाई बेचबिखन गर्ने दलाल गिरोहविरुद्ध सरकारवादी मुद्दा चलेपछि प्रहरीले नै उनलाई काठमाडौंस्थित महिला बेचबिखन विरुद्ध काम गरिरहेको एउटा संस्थाको संरक्षणमा पठायो ।

नेपालका सोझा-सीधा महिलाहरु दलालबाट कसरी बेचबिखनमा पर्छन् ? वैदेशिक रोजगारीको सपनामा उनीहरु कसरी लुटिन्छन् ? रञ्जु एक उदाहरण पात्र हुन् । उनको कहानी मार्मिक छ, जसलाई हामीले उनकै बकपत्रका रुपमा यहाँ प्रस्तुत गरेका छौं-

कुवेतदेखि मकाउसम्म

मेरो घर स्याङ्जा हो । वैदेशिक रोजगारीका सिलसिलामा पहिलो पटक सन् २०११ मा घरेलु कामदारका रुपमा कुवेत गएँ । त्यहाँ मैले राम्रो काम गरिरहेकी थिएँ र मेरो मालिक पनि दयालु थिए । दुई वर्षको बीचमा मेरो तलब २० हजारबाट बढेर २८ हजार रुपैयाँसम्म पुर्‍याएका थिए ।

एकदिन लोकराज रावल भन्ने व्यक्तिले मलाई फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठायो । उसले भाइबरमा पनि सन्देश पठाउने गर्न थाल्यो । ऊ मेरो दिदीको साथी हुँ भन्थ्यो । मकाउमा बस्दोरहेछ । उसको घर मुगु हो । उसले मेरी दिदीबाट मोबाइल नम्बर पाएको भन्दै एक दिन फोन गर्‍यो ।

उसले भन्यो, ‘तिम्रो दिदीलाई पनि मैले दुबई पठाउन सघाएको हो । तिमी त्यति थोरै पैसामा काम नगर । मकाउमा आऊ, महिनामा एक लाख २० हजार रुपैयाँ कमाउने जागिरमा लगाइदिन्छु ।’

सुरुको दुई/तीन महिना त मैले उसको कुरामा वास्ता गरिनँ । तर, पछि मकाउमा राम्रो पैसा आउँछ भने किन नजाने त भन्ने सोचेर हुन्छ भनेँ । उसले मेरो पासपोर्टको फोटोकपी माग्यो, मैले पठाइदिएँ । उसले सुरुमा ३८ हजार रुपैयाँ पठाउनुपर्ने भनेपछि भिनाजुमार्फत पठाइदिएँ ।

त्यसपछि अब तिम्रो डिमान्ड लेटर बनिसक्यो, चाँडै नेपाल जाऊ भन्यो । मैले मेरो घर मालिकलाई नेपाल जान्छु भनेँ, उनले फर्किने टिकटसमेत दिएर पठाए । म नेपाल आएपछि लोकराजले सुदर्शन थापा मगरको छोरा सुवासलाई भेट भन्यो । सुदर्शन भन्ने मकाउमै बस्ने दलाल रहेछ ।

दलालको जञ्जालः मकाउदेखि काठमाडौंसम्म

म सुवासलाई भेट्न नयाँ बानेश्वरको कम्पास अफिसमा गएँ । उसले एमआरपी बनाउन भन्यो । सबै काम गर्न थप ३८ हजार रुपैयाँ मागेपछि उसको बैंक खातामा हालिदिएँ । यो ०७२ माघ महिनाको कुरा हो ।

म त्यो बेला पाल्पामा दिदीको घरमा बस्थेँ । सुवास थापाले फेरि एक लाख रुपैयाँ माग्यो, त्यो पनि मैले उसको खातामा हालिदिएँ । बैंक ब्यालेन्स साढे दुई लाख देखाउनुपर्छ भनेपछि त्यो पनि गरेँ । ऋण गरेर फेरि फागुनमा डेढ लाख पठाएँ । ती सबै पैसा बैंकमार्फत पठाएको प्रमाण मसँग छन् ।

फेबु्रअरी २८ तारिखमा मकाउ उड्ने भनेर बोलाएपछि म पाल्पाबाट रातारात काठमाडौं आएँ । उसले २७ तारिखमा फेरि एक लाख रुपैयाँ माग्यो, अमेरिकी डलर एक हजार चाहिन्छ भनेर । मैले पैसा छैन, उतै कमाएर तिम्रो बुबालाई दिन्छु भनेपछि उसले हुन्छ भन्यो ।

एयरपोर्टमा ढाँट्ने तालिम

२८ तारिखमा एयरपोर्ट जाँदा गंगा गुरुङ भन्ने अर्की बहिनी पनि रहिछन् । उनलाई भित्र पठाइसकेको रहेछ । सुवासले भित्र अध्यागमनमा के-के भन्नुपर्छ भनेर गंगालाई सिकाएको छ, उसैले भने अनुसार बोल्नू भन्यो ।

खासमा कर्मचारी र पुलिसले सोध्दा सांस्कृतिक कार्यक्रमका लागि हङकङ जान लागेको भन्नू भनेर सिकाएको रहेछ । मैले पनि त्यसै भनेँ । कर्मचारीले हामीलाई करिब दुईघण्टा त्यहीँ रोके । पछि दुःख पाएर आउँछौ भन्दै थिए उनीहरु । सायद सेटिङ थियो कि Û हामीले दुई घण्टापछि भित्र जान पायौं ।

कल्चरल डान्स अर्थात् केटासँग रात बिताउने

हङकङ पुगेपछि हामी एकघण्टा बस यात्रा अनि पानीजहाजको यात्राबाट मकाउ पुग्यौं । त्यहाँसम्म नेपाली दाजुभाइले गाइड गरे । उनीहरुले सुदर्शनलाई चिन्दा रहेछन् ।
मकाउ पुगेपछि मात्रै थाहा भयो, हाम्रो त जम्मा १४ दिनको मात्रै भीसा रहेछ । हामीलाई त ठगिएको रहेछ ।

श्रम विभागबाट स्वीकृति लिन र एयरपोर्ट चार्ज भन्दै ५५ हजार रुपैयाँ लिएका थिए । त्यो पनि ठगिएको रहेछ । रोयल होटलको लबीमा हामीलाई लिन वीरु गुरुङ आए, जो गंगाका आफन्त पनि रहेछन् । उनैले मुख्य दलाल सुदर्शनको रेष्टुरेन्टमा पुर्‍याएर मलाई छाडिदिए ।

सुदर्शनले तीन दिनपछि ‘तँ त राम्री पनि छैनस्, होची रहिछेस, के काम गर्छेस्’ भनेर दुव्र्यवहार गर्न सुरु गर्‍यो । मलाई शंका लागेर हङकङमा बस्ने मेरी सानिमाकी छोरी (दिदी) लाई फोन गरेँ । ‘कल्चरल डान्स’ भनेको के हो भनेर सोध्दा दिदीले भनिन्, ‘यो त केटाहरुसँग रात बिताउने भनेको हो । तँलाई फसाए !’

दिदीको कुरा सुनेपछि म छाँगाबाट खसेझैं भएँ । मलाई त यौनकर्मी जस्तो बनाएर लगिएको रहेछ । मैले रुँदै सुदर्शनसँग म यस्तो काम गर्दिनँ, टिकट काटेर नेपाल पठाउनुस्, मेरो पैसा दिनुस् भनेँ । उसले त्यसो भए अर्को काम खोज्छु भन्यो ।

नौ महिने नरकः पटक-पटक व्यभिचार

मैले सुदर्शनसँग आफ्नो कुरा राखेँ । उसका छोराले पैसा लिएर पठाएको हो भनेँ । बढी कुरा नगर् भन्दै एउटा चाइनिजको घरमा काम गर्न हिँड् भनेर लग्यो । करिब ९ महिना त्यो घरमा काम गर्दा मैले पाएको सास्ती कुनै शब्दमा वर्णन गर्न सक्दिनँ ।

मैले शारीरिक र मानसिक यातना खेपेर काम गरेँ । तर, मेरो तलब सीधै दलालले पाउँथे । ९ महिना काम गर्दा एक पैसा पनि पाइनँ । कैयौं रात भोकै सुतेँ । म यस्तोमा काम गर्दिनँ भन्दा धाकधम्की पाएँ ।

यस बीचमा लोकराज रावलले मलाई होटलमा लगेर पटक-पटक बलात्कार गर्‍यो । उनीहरु मिलेर एक वर्षसम्म मेरो कमाइ खाने र मलाई बलात्कार गरेर चीनको कोठीमा बेच्ने योजना बनाएका रहेछन् ।

मलाई एक दिन सुदर्शनले उसको अफिसमा बोलायो । त्यहाँ पुगेपछि मेरो मोटरसाइकलमा बस् भन्यो । मैले उसँग जान मानिनँ । किनकि त्यहाँ पूरै जंगल एरिया छ । जंगलमा लगेर केही गर्ने हो कि भन्ने डरले गइनँ । त्यसको झोकमा उसले मलाई तीन दिनसम्म पार्कमा सुत्न पठायो । जाडोका बेला खुला पार्कमा तीन रात बिताएँ ।

कोठीमा बेचिनबाट यसरी जोगिएँ

तीन दिन पार्कमा बिताएपछि मलाई अब नेपाल फर्काउने भन्दै ट्याक्सीमा हालेर लगे । मैले जीवन जोगाउन नेपाल फर्किनुबाहेक अरु कुनै उपाय थिएन । मकाउ र चीनको बोर्डरमा इमिग्रेसनको अफिस अगाडि ट्याक्सी रोकेर उनीहरु यताउता हिँड्दै थिए । त्यहीबेला मलाई वीरु गुरुङको फोन आयो ।

मैले उनलाई यस्तो ठाउँमा छु भन्ने जानकारी गराएँ । वीरुले भने ‘त्यहाँ तिमीलाई कोठीमा बेच्न लगेका हुन्, सक्छेऊ भने त्यहाँबाट भागिहाल ।’

यसअघि पनि यी दलालले त्यसैगरी नेपाली चेलीलाई कोठीमा बेच्न त्यहाँ लैजाँदा रहेछन्, जुन कुरा वीरुलाई थाहा रहेछ ।

त्यहाँबाट म त्यही ट्याक्सी लिएर भागेँ । कति चाँडो सनमाला भन्ने सिटीमा पुगेँ, आफैंलाई थाहा छैन । त्यहाँ ट्याक्सीबाट उत्रिएपछि एक्लै रुन थालेछु । क्यासिनोमा काम गर्ने नेपाली दाजुभाइ त्यहीँ रहेछन् । उनीहरुले अंग्रेजीमा सोधे, ‘तिमी फिलिपिनो हौ ?’ मैले ‘होइन, म नेपाली हुँ’ भनेर जवाफ दिएँ ।

त्यसपछि एनआरएनको शरणमा

मेरो सबै कथा सुनेपछि ती दाजुभाइले एनआरएनका दाइसँग सम्पर्क गराए । एनआरएनका किरण श्रेष्ठ, राजेश प्रसाइँ लगायतका दाइहरु आएर मलाई उद्दार गर्नुभयो ।

उहाँहरुले एक सातासम्मका लागि ‘सेफ होम’मा राख्नुभयो । मसँग एक जोडी बाहेक कपडा थिएन, उहाँहरुले नै मलाई कपडा किनिदिनुभयो ।

यसबीचमा एनआरएनका दाइहरुले पटक-पटक बोलाउँदा पनि सुदर्शन थापा मगर त्यहाँ आएन । लोकराज रावल आएर मैले बलात्कार गरेको होइन भन्यो । तर, मैले सविस्तार बताएपछि उसले मार्ने धम्की दियो । सुदर्शन र लोकराजले मलाई नेपाल फर्किनासाथ एयरपोर्टमै गुण्डा लगाएर मार्ने धम्की दिए ।

अपराध महाशाखाबाट सामाजिक संस्थामा

मेरो अवस्था बुझेर एनआरएनका दाइहरुले सायद प्रहरी अपराध महाशाखामा खबर गर्नुभएछ क्यारे । एयरपोर्टमै मलाई प्रहरीले उद्दार गरेर लगे । सर्वेन्द्र खनाल सरले मेरो सबै कथा सुन्नुभयो । उहाँहरुले नै मलाई एउटा नाम चलेको संस्थामा पठाउनुभयो ।

संस्थामा पुगेपछि मलाई सञ्चालकले ‘तिमी बेचिएकै हौ त ?’ भनेर सोध्नुभयो । मैले सविस्तार बताएपछि मुद्दा जिताउन हामी लागिपर्छौंं भन्नुभयो । तर, यस बीचमा मेरो जीवनमा दोस्रोपटक बज्रपात पर्‍यो । मैले भरोसा गरेको संस्थाबाटै ममाथि भयंकर धोका भयो ।

‘तिमीहरुलाई केटा चाहिएको हो ?’

सुदर्शन थापाको छोरा सुवास, जसले मबाट पैसा लिएर मकाउ पठाएको थियो, त्यही संस्था सञ्चालक गर्ने व्यक्तिको छोराको साथी रहेछ । त्यसपछि ती सञ्चालकले मलाई मुद्दा-मामिलाको झन्झटमा नपर्न सुझाव दिनुभयो । ‘उनीहरु करोडपति हुन्, तिमीले मुद्दा लडेर सक्दैनौ बरु पैसा लिएर मिल्नेतिर लाग’ भन्नुभयो ।

मैले हजुर जस्तो सामाजिक कार्यकर्ता एवं पीडितहरुको संरक्षकले यो के कुरा गरेको भन्दा ‘तिमी केटीहरु पोइ खोज्दै हिँडेका होइनौ ? खुब केटा चाहिने होइन तिमीहरुलाई ?’ भन्दै अत्यन्त अश्लील शब्द बोलेर गाली गर्नुभयो ।

त्यो संस्थाका वकिल र उहाँसँगै रहने अन्य व्यक्तिलाई बोलाएर ‘यो केटीको केस कसैले नहेर्नू, यसलाई थुनेर राख्नु वा आफन्त बोलाएर जिम्मा लाउनू’ भन्दै जानुभयो ।

मलाई संस्थाभित्रै बन्दी बनाएर राखेपछि मुद्दा कहाँ पुग्यो, त्यो पनि जानकारी दिएनन् । त्यहाँ मलाई जिस्काउँथे, ‘तँलाई बेच्ने केटा त अष्ट्रेलिया पुगिसक्यो Û’ सुवासले सफाइ पाइसक्यो भन्थे । मलाई सर्वेन्द्र खनालसँग पनि भेट गर्न दिएनन् ।

मेरो मात्र होइन, सो संस्थाको संरक्षणमा पुगेका सबै दिदी-बहिनीको अवस्था त्यस्तै रहेछ । म त्यहाँ हुँदाहुँदै कतिपय बहिनीहरुले हात काटेर आत्महत्याको प्रयास गरेका थिए । गुपचुप उपचार गरेर राखियो । कतिले छतबाट हामफाल्न खोजे भने एकजना बहिनीले बाथरुममा हर्पिक खाइन् ।

मैमाथि किन यस्तो ?

म मेरो मुद्दा अघि बढाएर अपराधीहरुलाई दण्डित गराउन चाहन्छु । मेरो पैसा फिर्ता गराउन चाहन्छु । मैले जे-जति यातना र बलात्कार सहेँ, त्यसको क्षतिपूर्ति चाहन्छु ।

यो देशमा न्याय मरेको छैन भने मेरो लागि न्याय दिइयोस् । मैले न्याय पाउन के गर्नुपर्ने हो ? मुद्दा लडिदिनेले नै मलाई हराउन लागिपर्‍यो । अब म मलाई बेच्ने र बलात्कार गर्नेमाथि सजायँ गराउने एकसूत्रीय अभियानमा लाग्छु । थाहा छैन, अब फेरि ममाथि के हुने हो ? दुःख र पीडा जति मैले नै सहन लेखेको रहेछ ।

मैले जीवनमा कुनै पाप गरेको थिइनँ । तर, मलाई नै किन यस्तो बज्रपात ? अब मेरो सामु आत्महत्या गर्ने वा आफूमाथि अत्याचार गर्नेलाई सजायँ दिलाउने बाहेक अरु सबै बाटो बन्द भइसकेका छन् ।

२०७३ पुष ४ गते १९:२३ मा प्रकाशित : अनलाइनखबरबाट 

Leave us Comment

News, Useful Tips & रोचक जानकारी

Loading...
Loading...