पकेटमारका कोडभाषा सुनेर प्रहरी नै अचम्मित, काठमाडौँबाट पक्राउ परे यी ‘धुन्धुकारीहरु’
काठमाडौँ । पछिल्लो सयम काठमाडौँमा सार्वजनिक यातयातमा चढेर पकेटमार गर्ने घटना बढिरहेका छन् । हालै प्रहरीले यस्ता घटनामा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । रोचक कुरा त के छ भने पकेटमारहरुले प्रयोग गर्ने कोडभाषा देखेर प्रहरी नै अचम्मित परेको छ ।
पाकेटमारले सर्वसाधारणले नबुझुन् भनेर कोडभाषा प्रयोग गर्दै सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । भीडभाड भएका सार्वजनिक यातायातमा पाकेटमारीका ४/५ जनाको समूह चढ्ने र पैसा भएको व्यक्ति थाहा पाएपछि चारैतिरबाट घरेर पाकेटमारी गर्ने गरेको प्रहरीले जनाएको छ ।
गएको मंसिर १५ गतेदेखि प्रहरीले पकेटमारविरुद्ध चालेको अभियानमा ७७ जना पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो । प्रहरीले सादा पोशाकमा ५० जना प्रहरी खटाएर विशेष अभियान चलाएको थियो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।
पकेटमारहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित–रामे, पकेटमारी गर्ने (मास्टर) काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गरेको पाइएको छ । त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठूलदाई भन्ने गरेको पाइएको छ ।
यी हुन् पाकेटमारले प्रयोग गर्ने कोडभाषा
पैसालाई – द
मोबाइललाई – कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नुलाई – मास्टर÷कासी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाइ आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा